पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

शैक्षिक कार्यक्रमको नाममा ठगी गर्दै जन विकास शिक्षा प्रा.ली

२०८० मंसिर २९, शुक्रवार ०९:४५ बजे

अमृत पुडासैनी
काठमाडौँ : जन विकास शिक्षा प्राली नामक कम्पनीले शैक्षिक कार्यक्रमको नाममा ठगी धन्दा चलाएको खुलेको छ । उसले केन्द्रदेखि प्रदेशतहसम्म नेटवर्किङ शैलीमा कर्मचारी राखेर कक्षा ३ देखी १० कक्षासम्मका निजी र सरकारी स्कुलमा शैक्षिक कार्यक्रमको नाममा पैसा उठाउने तयारी गरेको हो । कम्पनीको चुक्तापुँजी जम्मा २५ लाख राखिएको छ । तर उसले आठ सय हाराहारीको कर्मचारी मागेको छ जसको पारिश्रमिकमै मासिक दुई करोड हाराहारी खर्च हुन्छ ।
कम्पनीले धनुषा र महोत्तरी जिल्लाको विद्यालयमा अध्ययनरत कक्षा ३ देखी १० सम्मको विद्यार्थी शैक्षिक कार्यक्रमको लागि छनोट भएको भन्दै उत्तीर्ण विद्यार्थीको कोड नम्बर साइडमा राखेकाले उसले यो ठगी धन्दा सुरु गरिसकेको पुष्टि हुन्छ । कम्पनीको प्रबन्ध निर्देशक हुन् अरविन्द कुमार सिंह र सह–निर्देशक सञ्चिता ढुंगाना । यी दुई शिक्षासँग सम्बन्धित व्यक्ति देखिएनन् । तर देशमा शैक्षिक क्षेत्र सुधार गर्ने भन्दै उनीहरूले केन्द्रदेखि स्थानीय हुँदै विद्यालयमा प्रतिनिधि बनाएर विद्यार्थीसँग पैसा असुल्न थालेका छन् । यस विषयमा जन विकासको प्रबन्ध निर्देशक सिंहसँग सम्पर्क गर्दा उनले भावनात्मक जवाफ दिए ।
‘हामीले आफूले अध्ययन गर्यौ । देशको लागि केही गर्ने मनसायले उक्त कम्पनी दर्ता गरेको हुँ । हामीले यस कार्यक्रमको बारेमा पुसको अन्तिममा पत्रकार सम्मेलन गछौं र कार्यक्रम अगि बढाउँछौँ’ उनले भने ।
रोजगारीको नाममा पनि ठगी
कम्पनीको उद्देश्य देशको हरेक जिल्ला र पालिकामा पुग्ने देखिन्छ । यसका लागि कम्पनीले विभिन्न जिल्लाका जिल्ला र पालिका संयोजक नियुक्त गरिसकेको देखिन्छ । केहीका लागि विज्ञापन गरिरहेको छ । सो प्रालिले हालै सात प्रदेश, ७७ जिल्ला अनि सात सय ५३ वटै पालिकाका लागि ८ सय ३७ जना कर्मचारी मागेको छ । प्रदेशको आवेदन शुल्क पाँच सय तोकिएको छ । जिल्लाको चार सय अनि पालिकाको तीन सय शुल्क । कम्पनीले प्रदेश संयोजकलाई मासिक ४० हजार पारिश्रमिक तोकेको छ । यो भनेको मासिक २ लाख ८० हजार भयो । जिल्ला संयोजकलाई मासिक २८ हजार तोकेको छ । यो भनेको मासिक २१ लाख हुन्छ । सात सय ५३ पालिका संयोजकका लागि कम्पनीले मासिक २० हजार पारिश्रमिक तोकेको छ । यसमा एक करोड ५० लाख मासिक खर्च लाग्छ ।
सबै जोड्दा कम्पनीले पारिश्रमिकमै महिनामा एक करोड ७३ लाख खर्च गर्ने देखिन्छ । तर कम्पनी सेयर पुँजी २५ लाख र चुक्ता पुँजी २५ लाख राखेर कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको छ । मासिक दुई करोड हाराहारी खर्च गर्ने कम्पनीको आर्थिकस्रोत देखिन्न ।
यसैबाट जन विकास शिक्षा प्रा.ली नामक कम्पनीले शैक्षिक कार्यक्रम गर्ने र विद्यार्थीबाट पैसा असुलेर ठगी गर्ने रणनीति बनाएको देखिन्छ । अर्कोतर्फ रोजगारीको नाममा आवेदन शुल्क लिएर ठगी गर्ने नियत पनि देखियो ।
नेटवर्किङ शैलीमा ठगी जालो
जन विकास शिक्षा प्रा.लीले कर्मचारीको भर्ना नेटवर्किङ शैलीमा गरेको देखिन्छ जसमा केन्द्रको नेतृत्वकर्तामा अरविन्द कुमार सिंह र सह निर्देशकमा सञ्चिता ढुगांना छन् भने प्रदेशमा विभिन्न जिल्ला संयोजक नियुक्त गरेको छ । त्यसैगरी स्कुल तहमा पुग्न विभिन्न पालिका संयोजक नियुक्त गरिसकेको छ । केही स्थानको लागि संयोजक खोजी गरिरहेको छ । यसरी हेर्दा कम्पनीले नेटवर्क नै बनाएर शैक्षिक सुधार भन्दै अभिभावकबाट पैसा असुल्ने नियत प्रस्टै देखिन्छ ।
कम्पनीले केन्द्र, प्रदेश, जिल्ला र पालिकाहरूमा धमाधम कर्मचारी भर्ना गरिरहेको छ । कर्मचारी भर्ना गरेबापत पनि रकम लिने गर्छ । पूर्व कर्मचारी राजाराम यादवले कर्मचारी आवश्यकता भनेर विज्ञापन गरेर पैसा असुल्ने तर काम नदिने गरेको बताए ।
‘उनीहरूले कुनै कर्मचारी भर्ना गर्न अनलाइन मार्फत पैसा पठाउन लगाउने र अन्तरवार्तामा नबोलाउने गर्छन् । यसरी यिनीहरूले पैसा उठाउने गरेका छन्’ उनले भने।
राष्ट्र बैङ्कको सूचना अधिकारी डा.दिल्लीराम पोखरेलका अनुसार आर्थिक कारोबार गर्ने र तहगतरुपमा कर्मचारी भर्ना गरी तोकिएको काम नगरे नेटवकिङ्ग व्यवसायीको रूपमा रहने बताए ।
‘राष्ट्र बैङ्कबाट सिधै सम्बन्ध राख्ने भएको भए केही हुन्थ्यो । तर यदि तहगत रूपमा कर्मचारी भर्ना गर्ने र पैसा लिएर कार्यक्रम नगर्नेलाई नेटवर्किङ व्यवसाय गरेको मान्न सकिन्छ । किनभने, तहगत कर्मचारी भर्ना गरेर पैसा लिएर काम नगर्ने भनेको त पैसा उठाउन नेटवर्क बनाएको हो नि, त त्यसैले यस्तो अवस्थामा चाहिँ नेटवर्किङ व्यवसायी हो ।’
शिक्षा मन्त्रालय छानबिन गर्ने तयारीमा
तहगत रूपमा कर्मचारी भर्ना भन्दै ठगी त छदैछ, अर्को निजी कम्पनीले शुल्क उठाएर शैक्षिक कार्यक्रम गर्ने भन्दै ठगी सुरु गर्दा समेत शिक्षा मन्त्रालय यसबारे बेखवर देखियो ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटासँग अब मन्त्रालयबाट कस्तो प्रक्रिया अगाडि बढ्छ भनेर जिज्ञासा राख्दा उनले ’यसबारे जन विकास प्रालीलाई सोधपुछ गर्ने बताए ।
‘शिक्षासँग सम्बन्धित विषय भएकोले यो हाम्रो क्षेत्राधिकार भित्र पर्ने नै भयो। यो विषय अलि गम्भीर विषय भयो । यदि विद्यार्थीबाट पैसा उठाएर कार्यक्रम गर्छ भने हाम्रो ध्यानाकर्षण हुन्छ’ सापकोटाले भने, ‘हामी यस विषयमा छानबिन अगाडी बढाउँछौँ । र कारबाही गछौं ।
पूर्व कर्मचारी भन्छन् ‘त्यो कम्पनी ठग हो’
जन विकास शिक्षा प्रालीले राजाराम यादवलाई धनुषा महोत्तरी जिल्ला संयोजकको रूपमा ४ महिना जिम्मेवारी दिएको थियो । कम्पनीले ४ महिनासम्म एक रुपैंया नदिएपछि काम छोडिदिए ।
‘मैले त्यो कम्पनीमा ४ महिना काम गरे तर एक रुपैंया दिएनन् अनि काम छाडिदिए । त्यो कम्पनीले विद्यार्थीको लागि शैक्षिक कार्यक्रम गर्ने भनेर पैसा उठाउने र भाग्ने उद्देश्य देखिन्छ अरविन्द कुमार पासवानले धेरै जनालाई काममा लगाएर पैसा दिएको छैन । सबै पीडित छन् । कम्पनी ठग्नकै लागि बनाएको हो ।’
अर्को पूर्व कर्मचारी जसिम खानले पनि डेढ महिना कार्यालय सहयोगीको रूपमा राखेको र पैसा नदिएको बताए । ‘मेरो काम कार्यालय भित्र थियो । महिनाको २० हजार दिन्छु भन्दै राख्यो । पछि हामीसँग पैसा छैन भन्यो । घर परिवारवाला मान्छे म, घर परिवार नै चलाउन गाह्रो भएपछि छोडिदिए । त्यो जन विकासले मलाई मात्रै होइन धेरैलाई ठगेको छ । अनलाइन मार्फत कर्मचारी माग्ने र पैसा लिने गर्छन् । अन्तरवार्ताको नाममा भिन्नै पैसा लिन्छ ।पछि फोन गर्छु भन्छन् तर फोन गर्दैनन् । पैसा खाइदिन्छ’ खानले भने ।