पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

वीरगंजका मेयर सिंह माथि कारवाहीको माग गर्दै पर्सा कांग्रेसद्वारा प्रेस बिज्ञप्ति जारी

२०८१ आश्विन २२, मङ्गलवार २२:४५ बजे

जलेश्वर सर्राफ 

वीरगंज- नेपाली काङ्ग्रेस पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथी एक प्रेस बिज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको छ। यसै सन्दर्भमा वीरगंज महानगरपालिका-१७ का स्थानियहरुले मेयर सिंहको गुण्डागर्दी र अभद्र व्यवहार विरुद्ध भन्दै आज दोस्रो दिन पनि रिले अनसन जारी राखेको छ ।

मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले मेयर सिंहलाई कारबाही गर्न माग गरेको हो।

नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेको हस्ताक्षर सहितको प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्।

पाण्डेले विज्ञप्तीमा भनेका छन्, ‘असोज २१ गते सोमबार वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौँमा वर्षातको पानी निकास सम्बन्धमा नगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर प्रहरीसमेतको टोलीहरु पुगेर स्थानीयबासी ज्येष्ठ नागरिक नेपाली कांग्रेसका नगर वडा कार्य समितिका सभापति शिव ओम लामिछानेसँग हातपात गरी वृद्ध व्यक्तिमाथि अभद्र व्यवहार गरिएको, र उनका छोरा सुदर्शन लामिछानेलाई समेत अराजक शैलीमा कुटपिट गरी घाइते बनाएको घटनालाई नेपाली कांग्रेस पर्सा घोर निन्दा तथा खेद प्रकट गर्दछ।

अत: घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथी यथाशीघ्र कारबाहीको माग स्थानीय प्रशासनसँग गर्दछु भनी उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।’

उनले अलौँमा भएको उक्त निन्दनीय तथा खेदजनक घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।

असोज २१ गते सोमवार अर्थात् हिजो वडा नम्बर २६ स्थित बाढीका कारण खेतमा जमेको पानीको विषयलाई लिएर विवाद हुदाँ महानगर प्रमुख राजेशमान सिंह र स्थानीयबिच घम्साघम्सी हुनुका साथै हातपात समेत भएको थियो। 

उता त्यही विषयलाई लिएर स्थानीयहरु आज दोश्रो दिनपनि रिलेअनसन र बाटो अवरुद्ध गरी धर्नामा बसेका छन्।

महानगरका मेयरले वृद्धमाथी गरिएको दुर्व्यवहारको विषयमा माफी नमागे सम्म आफ्नो विरोधका कार्यक्रम जारी रहने समेत बताएका छन्।

त्यस रिलेअनसन कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानीय नेताहरुको समेत समर्थन रहेको देखिएको छ।

प्रेस बिज्ञप्ति