पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

मकर संक्रान्तिको धार्मिक महत्व

२०८० माघ १, सोमबार ०८:३३ बजे

काठमाण्डौं : मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ ।
ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ्र यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशीबाट मकर राशीमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजीकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ ।

धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ ।
माघे÷मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ।मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राहृमण आ–आफ्ना यजमानकहाँ गई महिना सुनाइन्छ । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्दछन।शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।