पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

डिजेल र मटीतेलको भाउ घट्यो, ग्यास र पेट्रोलको यथावत

२०८० कार्तिक १५, बुधवार ०७:४६ बजे

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मटीतेलको मूल्य घटाएको छ । साविकको खुद्रा मूल्यमा डिजेल र मटीतेलमा प्रतिलिटर चार रुपैयाँले भाउ घटाएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि यथावत् राखिएको छ ।
डिजेलको मूल्य भने प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा घटेर आएको थियो । मूल्य समायोजनपछि अब डिजेल र मटीतेलको खुद्रा मूल्य पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा, दोस्रोमा १६३ र तेस्रोमा १६४ रुपैयाँ कायम हुनेछ। पेट्रोलको भाउ भने पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ नै कायम हुनेछ । अन्य पेट्रोलियम पदार्थको भाउ पनि यथावत् नै रहेको छ ।
निगमका अनुसार आईओसीबाट पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा भाउ बढेर आएको छ । यस्तै ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा मूल्य बढेर आएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार पेट्रोल र ग्यासको मूल्य समायोजन हाललाई यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।