पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

रौतहटमा ढुंगा थुपार्दै तस्करी गरिने धन्दा रोकिएन

२०८० श्रावण ९, मङ्गलवार २२:४८ बजे

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैँडाटारको चाँदी नदी किनारमा ढुंगा थुपार्दे तस्करी गरिने धन्दा रोकिएको छैन् ।
नदी या खोलाबाट ढुंगा अवैध रुपमा निकासी गरी अनधिकृत रुपमा निषेधित क्षेत्रबाट केही ट्याक्टर व्यवसायीले आर्थिक लाभ लिने गरेको पाईएको छ । चुरे क्षेत्रबाट दैनिक दर्जन ट्याक्टरमा ढुंगा चोरी निकासी हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई चुनौती थपिएको छ । राष्ट्रपति चुरे सरक्षण कार्यक्रम सञ्चालन रहेको क्षेत्रमा ढुंगा तस्करी भने रोकिएको छैन ।
नदी आसपासका क्षेत्रमा केही ट्याक्टर व्यवसायीहरुले ढुंगा संकलन गरेर राख्ने र महँगो मूल्यमा बिक्री वितरण गर्ने स्थानियहरुले बताएका छन् ।

यसमा संलग्न व्यापारीहरुको धम्कीका कारण ढुंगा तस्करीको विरोध गर्ने व्यक्तिहरु खुलेर बोल्न चाहँदैनन्। उनीहरुले अवैध रुपले संकलन गरेर राखेको ढुंगा डिभिजन वन कार्यालयले जफत गर्नुपर्ने माग गरेका छन् ।
वन उपभोक्ता समिति, डिभिजन वन, स्थानीय तह लगायतका सरोकारवाला निकायले चासो नदिँदा ढुंगा तस्करी बढेको स्थानीयको आरोप छ । जिल्लाको धन्सर खोलादेखि बागमतीसम्म करिब ३० किलोमिटर चुरे क्षेत्रमा २०६७ सालदेखि चुरे संरक्षण कार्यक्रम संचालनमा छ । यसरी ढुंगा तस्करी गर्ने ट्याक्टर मकवानपुर र रौतहटका रहेको स्थानीय बताउँछन् ।