पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

रौतहटबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद

२०८० फाल्गुन १९, शनिबार १६:०८ बजे

रौतहट : ब्रह्मपुरीबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद
सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । सशस्त्रले जिल्लाको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–५, इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोली बरामद गरेको हो ।
शुक्रबार साँझ ८ बजे बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाबाट खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर चेकजाँच गर्नेक्रममा हतियार बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर अगर्वाले जनायो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय बीआर ३० एक्स ७७१३ नम्वरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा उनीहरुको साथबाट हतियार खसेको बुझिएको छ ।
ती दुवै व्यक्ति तत्कालै भारततर्फ नै फरार भएका छन् । म्यागजिनमा गोली लोड गरिएको पेस्तोल बरामद हुनुले उक्त व्यक्तिहरु नेपालतर्फ कोही कसैमाथि सिधै आक्रमण गर्न आएको हुनसक्ने सुरक्षा अधिकारीहरुले आशंका गरेका छन् ।
बरामद गरिएको हतियार आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए ।