पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

वीरगन्जका मेयर सिंहविरुद्ध सात वटा सरकारी निकायमा उजुरी

२०८० माघ ७, आईतबार १६:३० बजे

जलेश्वर सर्राफ
पर्सा : वीरगन्जका मेयर राजेशमा सिंहविरुद्ध ७ वटा सरकारी निकायमा उजुरी परेको छ ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमानसिंह विरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालय सहित ७ वटा निकायमा जाहेरी तथा उजुरी परेको हो । किर्ते तथा फर्जी कागजातको आधारमा रुविना श्रेष्ठलाई आफ्नो छोरी बनाएर नागरिकता दिलाएको भन्दै उनीविरुद्ध कारबाहीको माग गर्दै सचेत नागरिक समाज लगायत विभिन्न राजनीतिक दलले उजुरी दिइएका हुन् । मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालय,गृह मन्त्रालय,पर्सा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी,कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी तथा राष्ट्रिय सतर्कता केन्द्रसम्म मेयर राजेशमान तथा रुबिना श्रेष्ठलाई विपक्ष बनाएर उजुरी दिईएको हो ।
अरुको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै पर्साका स्थानीय तथा कांग्रेस समर्थकहरुले पहिलोपटक पुस २४ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएको थियो । दर्ता नम्बर १३२५ रहेको यो उजुरीनै मेयर राजेशमान तथा रुबिना श्रेष्ठ विरुद्धको पहिलो उजुरी हो ।
पर्सा प्रहरी प्रमुख कोमल शाहले मेयर सिंहसहित २ जनाविरुद्ध फौजदारी अपराध अन्तर्गत जाहेरी परेको जनाउँदै त्यसमाथि छानबिन भइरहेको बताए । उनले भने, ‘नागरिकता प्रकरणमा केही विषयमा छानबिन भइरहेको छ, त्यो सकिएपछि दर्ता गरेर बाँकी प्रक्रिया अगाडि बढाइन्छ ।
यसैगरी नागरिकता प्रकरणबारे यही साताभित्रै सत्यतथ्य छानबिनको माग गर्दै गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी दिइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पर्साका नेताहरुले भेटघाट गर्दै सत्यतथ्य छानबिनको माग गर्दै उजुरी दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्री श्रेष्ठले उजुरी बुझ्दै मेयर सिंहले दिलाएको नागरिकताबारे छानबिन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ । पर्साका नेताहरुसँगको भेटमा गृहमन्त्री श्रेष्ठले दोषी देखिए कारबाही हुने प्रतिबद्धता जनाएको भेटमा सहभागी स्रोतले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले समेत मन्त्रालयमा उजुरी परेको र त्यसमाथि सत्यतथ्य बुझ्ने काम भइरहेको जनाएका छन् त्यसैगरी यो नागरिकता प्रकरण देशैभरी चर्चाको विषय बनेकोले यसलाई हामीले दुरुस्त छानबिन गरि दोषीलाई तत्कालै कार्यवाहीको दायरामा ल्याउने छौ भने प्रतिक्रिया भट्टराईले दिए ।