पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

मधेस प्रदेश अधिवेशनमा सहमति बिना नै प्रदेश सदस्य सर्वसम्मत चयन भएको घोषणा गर्ने तयारी

२०८० आश्विन २७, शनिबार १६:३० बजे

जनकपुरधाम- नेकपा एमालेको मधेस प्रदेश अधिवेशनमा पाँच जना पदाधिकारीहरूको नाममा सर्वसम्मत भए पनि मधेस प्रदेश सदस्यहरूमा सर्वसम्मत नभई विवाद बिचबाट पार्टीकाे हाई कमाण्डको निर्देशनमा निर्वाचन कमिटीले जबरजस्ती प्रदेश सदस्यहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ । 

रौतहट, महोत्तरी र सर्लाही तिन जिल्लाबाट उम्मेदवारी मनोनयन दर्ता गरेका अधिकांश प्रतिनिधिहरुलाई अधिवेशन हाईकमाण्डले जबर्जस्ती सहमतिको नाममा मनलाग्दी निर्णय गरेर आफु निकटका व्यक्तिहरुलाई प्रदेश कमिटी सदस्यमा सर्वसम्मत निर्वाचित गराउने षडयन्त्रको उपजमा आज केहि बेर पछि नतिजा घोषणा गर्ने तयारी गरेको हो । 

रौतहट जिल्ला क्षेत्र नंं.४ का पार्टी सदस्य तथा महाधिवेशन प्रतिनिधि रवि रानामगर र जितेन्द्र कुमार चौधरी अन्यायमा परेका एक प्रतिनिधी उदाहरण मात्र हुन् । निजहरुले नियमानुसार निर्वाचन कमिटीमा जबर्जस्ती गरिएको निर्णय बिरुद्ध आफ्नो बिमति रहेको उल्लेख गर्दै आफूहरुले मनोनयन दिएको पदमा निर्वाचन गरि पाउँ भनि निवेदन दर्ता गरेका छन्। यद्यपि उक्त पदमा रौतहट पार्टी जिल्ला ईन्चार्ज पुरुषोत्तम पौडेलले पार्टी केन्द्रिय सदस्य उद्धव रेग्मीको अनावश्यक दबाबमा परि उजुरी उपर कुनै कारवाही नगरि दाबी गरिएको पदमा सर्वसहमति भयो भन्दै आफू निकट उमेदवारलाई निर्वाचित गराउने षड्यन्त्र रचेको पाइएको छ । 

रौतहट जिल्लाका अधिकांस प्रतिनिधि उमेदवारहरुलाई पार्टी जिल्ला इन्चार्ज तथा केहि केन्द्रिय सदस्यहरुले शुक्रबार राति जबरजस्ती सहमतिको माइन्युटमा हस्ताक्षर गराएर सर्वसम्मत उमेदवार चयन गर्ने प्रयास गर्दा झण्डै झडपको स्थिती सिर्जना भएको थियो। महोत्तरीका उमेदवारहरुले सर्वसहमतिको नाममा भएको अन्याय बिरुद्ध शुक्रबार राति नै केही बेर नाराबाजी समेत गरेका थिए। 

अन्य जिल्लाका प्रतिनिधिहरुले दिएको निवेदन भने जिल्ला ईन्चार्जहरुले दर्ता समेत गर्न नदिइ आफुसँग राखेको पाइएको गुनासो नाम प्रकाशित नगर्ने सर्तमा पाठशाला न्युजका ग्राउण्ड रिपोर्ट गरिरहेका प्रतिनिधिहरुलाइ बताएका छन् । 

पाठशाला न्यूजको ग्राउण्ड रिपोर्टहरुले दिएको प्रमाणको आधारमा यस अघि प्रकाशित समाचारमा बहालवाला शिक्षकले दिएको उमेदवारी पनि अधिवेशन निर्वाचन कमिटीले खारेज नगरि एम.एस.निधिको नाममा पार्टी सदस्य नं.१०४९८ का शिक्षक मनि शंकर निधि बिरुद्ध परेको उजुरीको पनि कुनै सुनवाई नगरी प्रदेश कमिटी सदस्यमा निर्वाचित घोषणा गर्ने समेत तयारी रहेको पाइएको छ । 

जारि अधिवेशनको बिधिवत घोषणा हुन बाँकि रहदा उपस्थित लगभग सम्पुर्ण प्रतिनिधिहरु घर फर्किसकेका छन् । करिब डेढ दुईसयको सङ्ख्यामा हाइकमाण्ड निकट प्रतिनिधिहरु आफुलाई चिठ्ठा पर्ने आशामा अधिवेशन स्थलमा पर्खिरहेको अवस्था बाहेक बाँकि निराश भएर शनिबार बिहानै आवाज बिहिन भई फर्किएका छन् ।