पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

राप्रपाले चैत्र २७ गते काठमाडौंमा बिरोध प्रदर्शन गर्ने

२०८० चैत्र २५, आईतबार २२:३५ बजे

जलेश्वर सर्राफ 

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यही चैत्र २७ गते पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गर्ने बताएका छन्।

उनले चैत २७ गते बिहान ११ बजे भृकुटीमण्डबाट प्रदर्शन सुरू गरिने बताए। उनले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्।

‘सरकारले जुलुसलाई अवरोध गर्ने काम नगरोस्,’ आइतबार राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई के भन्न चाहन्छु भने निषेधित क्षेत्र घोषणा गरेका छन्। भिक्षुमाथि लात्ती हान्ने काम भएको छ, म निन्दा गर्दछु।’

उनले निषेधित क्षेत्रका नाममा प्रदर्शन गर्न सरकारले रोके तोडेर अघि बढ्ने बताए।

उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेकोमा पनि चिन्ता व्यक्त गरेका थिए।

उनले राप्रपाका ४० बुँदे माग पूरा गर्नेतर्फ सरकार नलागेकोले आन्दोलन गर्न लागिएको पनि बताएका थिए। 

‘हाम्रो आन्दोलनमा हिंसात्मक गतिविधि हुँदैनन्, तोडफोडका कामहरु हुने छैनन्। त्यो क्रममा सरकारले जुलुसलाई उत्तेजित बनाउने, अवरोध सिर्जना गर्ने काम नगरोस्। प्रधानमन्त्री र गृहमन्त्रीलाई म विशेष के आग्रह गर्न चाहन्छु, पछिल्लो दिनमा प्रजातान्त्रिक क्रियाकलापहरु संविधानले नै दिएको सुविधा, विरोध प्रदर्शन गर्न पाउने, सभा सम्मेलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै जुन निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरुलाई साँघुरो बनाउने प्रयत्नहरु भइरहेको छ। हिजो मात्रै पनि केही राजनीतिक दलका प्रदर्शनहरुमाथि लाठी चार्ज भयो। भिक्षुहरुलाई लात्ती मुड्की गर्ने काम भयो। त्यसको म निन्दा गर्दछु,’ उनले भने।

अध्यक्ष लिङदेनले राप्रपा समान विचार राख्ने पार्टी हो र राप्रपाको मुल मर्म बुझ्ने व्यक्तिहरुलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरेका थिए। उनले अहिलेको व्यवस्था जति राख्यो त्यति देशलाई क्षति हुने दाबी गरेका थिए।

‘राजादेखि माओवादीसम्म अटाउने नवीन सहमति गरौं,’ लिङ्देनले भने, ‘त्यसका लागि दवाव सिर्जना गर्न आन्दोलन गरिएको हो। र अबको यो आन्दोलन देशलाई नयाँ सहमतिको मार्गचित्र कोर्ने अवसर समेत रहेको राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनले बताएका छन्।