पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआई विश्वकप क्रिकेट २०२३: ७ विकेटले पराजित गर्दै पाकिस्तान माथि भारतको सानदार जित

२०८० आश्विन २७, शनिवार २१:४१ बजे

काठमाडौं- अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शनिबार भएको विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । 

योसँगै टीम इन्डियाले एकदिवसीय विश्वकपको इतिहासमा पाकिस्तानलाई आठौं पटक पराजित गरेको हो। विश्वकप २०२३ को कुरा गर्ने हो भने पाकिस्तानविरुद्ध भारतको कीर्तिमान निकै राम्रो छ । एकदिवसीय विश्वकपमा हालसम्म भारत र पाकिस्तानबीच कुल ८ खेल भएका छन् जसमध्ये सबै ८ खेलमा भारतले जित हासिल गरेको छ । भारतले सन् १९९२, १९९६, १९९९, २००३, २०११, २०१५, २०१९ र २०२३ मा भएका सबै ८ ओडीआई विश्वकपमा पाकिस्तानलाई नराम्रोसँग पराजित गरेको थियो।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको विश्वकप २०२३ को खेलमा पाकिस्तानी क्रिकेट टोलीले भारतीय बलरसामु निरिह देखिए। टस हारेर पहिले ब्याटिङ गर्न आएको पाकिस्तानी टोली ४२.५ ओभरमा १९१ रनमा अलआउट भएको थियो । भारतका रविन्द्र जडेजा, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, मोहम्मद सिराज र कुलदीप यादवले समान २–२ विकेट लिए ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए भने मोहम्मद रिजवानले ४९ रनको इनिङ खेले । यसबाहेक इमाम उल हकले ३६ रन बनाए ।

जवाफमा टिम इन्डियाले ३०.३ ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएर खेल जित्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए । रोहित शर्माको इनिङ्समा ६ चौका र ६ छक्का समावेश थियो । रोहित शर्माका अलावा श्रेयस अय्यरले ५३ रनको इनिङ खेले । यसबाहेक केएल राहुलले १९ रन बनाए । शुभमन गिल र विराट कोहलीले १६–१६ रन बनाए ।

मोहम्मद सिराज र जसप्रित बुमराहको नेतृत्वमा बलरको उत्कृष्ट प्रदर्शनका कारण भारतले पाकिस्तानलाई ४२.५ ओभरमा १९१ रनमा अलआउट गरेको थियो । एकदिवसीय विश्वकपमा भारतविरुद्ध पाकिस्तानको यो दोस्रो सबैभन्दा कम स्कोर हो। यसअघि सन् १९९९ मा पाकिस्तानी टोली १८० रनमा आउट भएको थियो ।