पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

टेलिकमको बिलिङ सिस्टम खरिदमा अरबौं घोटाला

२०८१ आषाढ ८, शनिवार ०७:१० बजे

काठमाडौं- नेपाल टेलिकममा बिलिङ सिस्टममा भएको अरबौं घोटालाले हंगामा मच्चिएको छ । ३ अर्ब २५ करोडको बिलिङ सिस्टम खरिद प्रकरणमा ठूलै गिरोह संलग्न भएको तथ्य पाएपछि अख्तियारले गहिरोसँग अनुसन्धान चलाइरहेको छ ।

यसमा मुछिएकाहरुसँग धमाधम बयान चलिरहेको छ । जसमा तत्कालीन सञ्चार सचिव तथा हालका मुख्यसचिव बैकुण्ठ अर्याल समेत छन् । यसबाहेक टेलिकमका ३ दर्जन अधिकारी समेत मुछिएका छन् । उनीहरु खरिद प्रकरणमा बनाइएको समितिहरुमा रहेका थिए । खरिद प्रकरणमा उनीहरुको संलग्नता पाइएको छ ।

बिलिङ सिस्टम खरिद प्रकरणमा पूर्व प्रबन्ध निर्देशक डिल्ली अधिाकरी, हालकी निमित्त प्रबन्ध निर्देशक संगिता पहाडी पनि मुछिएका छन् । उनीहरु दुवै अख्तियारको कारबाहीमा पर्ने भएका छन् । संगिता त टेलिकमको प्रबन्ध निर्देशक बन्ने दौडमा छिन् । तर, उनलाई अख्तियारले डाम्ने भएकाले पनि छनोटमा नपर्ने विश्वस्त स्रोतले बताएको छ । पहाडी पूर्व न्यायाधीश लक्ष्मण अर्यालकी छोरी हुन् ।

काँग्रेसनिकट पृष्ठभूमिकी पहाडी सुनिल पौडेल प्रबन्ध निर्देशक हुँदा हालीमुहाली थिइन् । पौडेलले आफू अख्तियारमा पर्ने सूचना पाएपछि पहाडीलाई नै कार्यवाहक दिएर बिदामा बसेका थिए । तर, काँग्रेस सरकारमा हुँदा नै उनी प्रबन्ध निर्देशकको प्रतिष्पर्धामा छनोट भइनन् । यसको कारण उनको दक्षता र क्षमतामाथि प्रश्न उठ्नु पनि हो ।

विश्वस्त स्रोतका अनुसार पहाडी प्रबन्ध निर्देशक रहेपनि उनका पति विश्वबन्धु पहाडी नै हालीमुहाली छन् । उनको अर्थमन्त्री वर्षमान पुनसँग विशेष सम्बन्ध छ । प्रायः पुनसँग भेट्न पुगिरहन्छ । नेपाली सेनाका कर्णेल विश्वबन्धुको फाष्ट ट्रयाकमा जिम्मेवारी रहँदा नै वर्षमान पुनसँग सम्बन्ध जोडिएको हो ।

विश्वबन्धु साम दामसहित संगिता पहाडीलाई प्रबन्ध निर्देशक बनाउन लागिपरेका छन् । तर, बिलिङ सिस्टम घोटालामा मुछिएकाले बालुवाटार उनलाई नबनाउने सोचमा पुगेको उच्च स्रोतले बताएको छ । संगिताको नौं महिने कार्यकाल विवाद नै विवादमा परेको छ । उनले टेण्डर निकाल्दा ठूलो घोटालाहरु भएको तथ्यहरु अख्तियारमा पुगेको छ । यसले उनी कुनैपनि बेला अख्तियारबाट डामिने भएकी छिन् ।

टेलिकमको बिलिङ सिस्टम खरिद झन् डरलाग्दो भ्रष्टाचारका रुपमा आउने देखिएको छ । यसमा टेलिकमका उच्च अधिकारीहरु देखि तत्कालीन सचिव र कर्मचारी यतिबेला अख्तियार धाएको धायै छन् । ३ अर्ब २५ करोडको बिलिङ सिस्टम घोटालाले टेलिकमका २ दर्जनभन्दा बढी कर्मचारीको जागिर जाने अवस्था बनेको छ ।

यो प्रणाली खरिदमा संलग्न भएकामा टेलिकमका ४२ जना बहालवाला र पूर्व कर्मचारी रहेका छन् । उनीहरुमध्ये कतिपय टेलिकमको प्रबन्ध निर्देशक बन्ने दौडमा पनि छन् । तर, यो प्रकरणले गर्दा टेलिकमभित्रबाट कसैलाई पनि प्रबन्ध निर्देशक नबनाउने सोचमा प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री रेखा शर्मा समेत पुगिसकेको बुझिएको छ ।