पाठशाला न्यूज
 २०८१ आषाढ १४, शुक्रवार    

क्याम्पस प्रमुख कुशवाहाकाे गाेली हानी हत्या

२०८१ जेष्ठ ३२, शुक्रवार २०:५२ बजे

जलेश्वर सर्राफ 

बाराकलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाकाे आज साँझ गाेली हानी हत्या भएको छ।

हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।

हरिभुषण कुशवाहाकाे हत्या लगत्तै अनुसन्धानको क्रममा खटिएको प्रहरीले शङ्काको आधारमा साेधपुछका लागि २ जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले बताएका छन्।

प्रहरीको नियन्त्रणमा रहेका ती दुईजनाको परिचय भने प्रहरीले खुलाएकाे छैन।

शुक्रबार साँझ बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका-वडा न:-३ बतरा टोलमा अज्ञात समुहको गोली प्रहारबाट कुशवाहाकाे हत्या भएको हो।

कुशवाहाको काेखामा गोली लागेर गम्भीर घाईते भई उनलाई उपचारका लागि बिरगंजको गण्डकस्थित नारायणी व्योधा मेडिसिटी अस्पतालमा पुर्याउँदा त्यहाँका चिकित्सकले मृत घाेषित गरेका थिए ।

आदर्श काेतवाल गाँउपालिका खजुरीया टोल २ का स्थायी बासिन्दा कुशवाहा आफ्नो गाँउबाट कलैया तर्फ जाने क्रममा मोटरसाइकलमा सवार रहेका अपराधीहरुले कुशवाहालाई गोली प्रहार गरेका थिए।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी फरार भएको भन्ने प्रारम्भिक रुपमा बुझिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। न्यौपानेले हामी अहिले अनुसन्धानको क्रममा रहेकोले घटनाको थप विवरण खुल्न अझ बाँकी रहेको भनी स्पष्ट पारेका छन।