पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

वीरगंज मेयरको किर्ते नागरिकता काण्डको छानविन गर्न पुग्यो गृहमन्त्रालयको टोली वीरगंजमा

२०८० माघ २६, शुक्रबार २२:४८ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज महानगरका मेयर राजेशमान सिंहले किर्तेगरि बनाई दिएको नागरिकता प्रकरण बारे छानबिन गर्न वीरगंज पुगेका गृहमन्त्रालयका टोलीले बिरगंज महानगरको वडा नं. ३ को कार्यालयमा पुगी सोधपुछ गरेको छ । 

गृह मन्त्रालयका उपसचिव पुष्कर राणाको संयोजकत्वमा शाखा अधिकृत पर्शुराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले वीरगंज महानगरपालिका वडा नम्बर ३ को वडा कार्यालय छपकैयामा पुगेर वडाबाट गरिएका सिफारिस, त्यसका आधार तथा प्रमाणबारे बुझेका छन्। 

गृहमन्त्रालयको उक्त टोलीले वडा कार्यालयले मेयर राजेशमान सिंहको छोरी बनाएर गरेको सिफारिस पत्र, रजिष्टरको रेकर्ड, अनुसूची लगायतका फाईल समेतका विवरण माथि खोजबिन गरेको छ। सोधपुछको क्रममा लगत्तै सिफारिसमा संलग्न रहेकाहरुको जवाफ चित्तबुझ्दाे नआएपछि गृहमन्त्रालयको टोलीले लिखित बयान लिएको छ । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नाम गरेकी एकजना युवतीलाई छोरी बनाएर नागरिकता दिलाएका थिए । जसको खुलासा पुस २४ गते स्थानीय तथा राष्ट्रिय समाचारका माध्यमबाट खुलासा भएको थियो। तत्पश्चात सो किर्ते नागरिकता प्रकरणमा छानबिन गरी कारबाही गर्न माग गर्दै ७ ओटा निकायमा उजुरी परेको थियो । 

मेयर सिंहको नागरिकता काण्डको बारेमा संघीय संसदमा प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रश्न समेत गरेका थिए । सडक र सदन दुबैमा समेत प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले विस्तृत छानबिनका लागि समिति गठन गरि वीरगंज पठाएको हो ।  

नागरिकताको सिफारिस लिएको २०७५ साउनको पहिलो सप्ताह र प्रतिलिपि लिएको २०७६ फागुन पहिलो साताको समयमा वडाअध्यक्ष रहेका बैजुलाल स्वर्णकार र वडा सचिव समिन देवान थिए र हाल पनि उनिहरु सोही पदमै छन् । तर सिफारिस गर्ने र प्रतिलिपि लिने समयमा वडा अध्यक्ष बैजुलाल स्वर्णकार वडा कार्यालयमा उपस्थित थिएनन् । त्यसबेला वडा सदस्य तुफैल अख्तर ठकुराइ कार्यवाहक वडा अध्यक्ष थिए । वडा सचिव समिन देवानको लिखतमा कार्यवाहक वडा अध्यक्ष तुफैल ठकुराइले राजेशमानलाई बाबु बनाएर रुबिना श्रेष्ठको जन्मदर्ताको प्रमाणपत्रका साथै नागरिकताका लागि सिफारिस तथा अन्य कागजात समेत बनाईदिएका थिए । उपसचिव राणाका टोलीले सोहि कागजातको विषयमा वडा नं ३ को कार्यालयमा डेढ घण्टा सोधपुछ गरेका थिए । 

सिफारिस पत्र, प्रमाणहरु, रजिष्टर लगायतको विवरणहरुका अभिलेख हाल वडा कार्यालयबाट गायब पारिएको छ।वडा अध्यक्ष बैजुलाल स्वर्णकार, तत्कालिन वडा सदस्य तुफैल अख्तर ठकुराईसँगको सोधपुछका क्रममा चित्तबुझ्दाे जवाफ नआएपछि छानबिन टोलिले जिल्ला प्रशासन कार्यालय मै उपस्थित गराएर त्यसको भिडियो तथा लिखित बयान लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरुमा सिफारिस गर्ने र प्रतिलिपिका अर्को सिफरिस गर्ने वडा अध्यक्ष बैजुलाल स्वर्णकार र वडा सदस्य तुफैल अख्तरसँग बयान लिएपनि सबै घटनामा साक्षी वडा सचिव समिन देवानसँग भने बयान नलिएको जिल्ला प्रशासन कार्यालय पर्साको एक विश्वत स्रोतले बताएको छ।

केहिदिन अगाडी जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक छानबिनको क्रममा संलग्न देखिएका कर्मचारीहरुलाई जिम्मेवारीबाट मुक्त गरी स्पष्टीकरण समेत लिईसकेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिए अनुसार १३ महिना अघिसम्म फाइल भएको तर तत्कालिन प्रमुख जिल्ला अधिकारी उमेश ढकालको कार्यकालमा अनुसुची फार्म लगायतका अभिलेख विवरण गायब भएको बताउँदै आएको छ।