पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

एमालेका नेता रायमाझीको प्रतिरक्षामा उच्च अदालत पाटनमा सुनुवाइ जारी

२०८० मंसिर १२, मङ्गलवार ०९:५१ बजे

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ । गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
आज (मंगलबार) पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीका कानुन व्यवसायीले बहस गर्दैछन् । त्यसअघि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले सोमबार बहस सक्काएका थिए ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका तथा अन्य देश पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर ठगी प्रकरणमा रायमाझी प्रतिवादी छन् । गत असार १ गते काठमाडौं जिल्ला अदालतले थुनछेक आदेश सुनाउँदै रायमाझीसहितका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
रायमाझीविरुद्ध ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको लगायतका अभियोग छन् । उक्त ठगी प्रकरणमा अनुसन्धान सुरु भएपछि फरार भएका रायमाझीलाई प्रहरीले गत वैशाख ३१ गते, आइतबार काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो ।
ठगी प्रकरणका अभियुक्तमध्ये २२ जनाले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा बेरितको निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । हालसम्म १८ जनाको बहस सकिएको उच्च अदालत पाटनले जनाएको छ ।

२२ जनाकै पक्षबाट बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन् । सरकारी पक्षबाट बहस सकिएपछि निवेदक (२२ जना प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि मात्र इजलासले प्रतिवादीहरुलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गर्ने वा बदर गर्ने भन्ने निर्णय सुनाउने छ ।