पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

भारतले थप निर्यात स्विकृत नदिदा खेर गयो दैनिक ५ सय मेगावाट विद्युत

२०८० कार्तिक ८, बुधवार १७:०७ बजे

काठमाडौं- दशैं आएसगैँ देशको आन्तरिक विद्युत् खपतमा कमी आएपछि जलविद्युत् आयोजनाबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत खेर गइरहेको छ ।

नेपालीहरुको महान चाड दशैंमा सार्वजनिक बिदा पर्दा अत्यधिक विद्युत खपत गर्ने उद्योग कलकारखाना बन्द हुने गरेको छ । त्यस्तै काठमाडौंमा चिसो सुरु भइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युतको माग घटने गर्छ । तर खडेरी सकिएपछि नदी तथा खोलानालाहरुमा स्वच्छ पानी बग्ने अवस्थामा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रको स्वामित्वमा रहेका जलविद्युत आयोजनाबाट निर्बाध रुपमा विद्युत उत्पादन हुने गरेको छ ।

हाल नेपालमा दैनिक रुपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ । तर थप निर्यातका लागि नेपालले भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रुपमा ५ सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नु परेको छ ।