पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

म्याग्दीको पञ्चकुण्ड ताल चिसोले जमेर बरफ

२०८० मंसिर २२, शुक्रवार ०८:२९ बजे

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ ।
समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।
पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने बनेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिए । ‘हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको ताल जमेर हिडडुल गर्न सकिने भएको छ,’ उनले भने ‘पर्यटकहरुले जमेको ताललाई अनौठो मानेर अवलोकन गर्ने र सहासिक यात्रा गरेर रमाउन थालेका छन् ।’
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साउँछ । आधार शिविरबाट वरिपरि हिमालले घेरिएको छ । हिमतालकै वरपर वर्षौँदेखि जमेका हिमनदीका अनौठा आकृति, आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने गत हप्ता आधार शिविर पुगेर फर्किएका गाडपारका बासिन्दा सुकबहादुर गर्बुजाले बताए ।
हिमनदी क्षेत्रमा फैलिएको यो हिमताल गर्मी याममा पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड राखिएको हो । सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो राखेका थिए ।