पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

सात महिनामा ८ खर्ब बढी रेमिट्यान्स भित्रियो

२०८० फाल्गुन २७, आईतबार १८:०७ बजे

काठमाडौं- चालू आर्थिक वर्षको ७ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब बढी पुगेको छ। आइतबार नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रस्तुत गर्दै ८ खर्ब ३९ अर्ब पुगेको जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो। चालू आर्थिक वर्षको ७ महिना खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई ९ खर्ब १० अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो।