पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

गुणस्तरहीन पानी बेच्दै ‘मुनड्रप्स’

२०८० असार ३०, शनिबार २१:०२ बजे

चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुरचार चन्द्रनिगाहपुर राजमार्गमा रहेको लक्ष्मी होटलबाट ठूलो परिमाणमा ‘मुनड्रप्स’ पानीको बोतलमा दूषित पदार्थ भेटिएको छ ।
चन्द्रपुर नगरपालिका कार्यालयले समयमा बजार अनुगमन नगर्दा यस्ता समस्या निम्तिएको कारण उपभोक्ताहरु दूषित पानी पिउन बाध्य भएका छन् । नियमनकारी निकायले खाद्यबस्तु र पानी लगायतका सामानप्रति बेवास्ता गर्दा यस्तो अवस्था आएको उपभोक्ता हित संरक्षण मञ्च, रौतहटका अध्यक्ष टीका घिमिरेले जानकारी दिएका छन् ।
घिमिरेले नियमनकारी निकाय रहेको ठाउँ नजिकै दूषित पानी भेटिनु भनेको चरम लापरवाही र उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको बताएका छन् । उनले भने मुनड्रप्समा दुई वर्षदेखि अनुगमन भएको छैन ।
यसअघिका वर्षमा भएको अनुगमनका क्रममा पानी कम्पनीलाई मापदण्ड अनुसार चल्न सचेत गराइसकेको थियो । अनुगमनका लागि स्थानीय प्रशासन र नगरपालिकाले समन्वय नगरेको र बजेट समेतको व्यवस्था गर्न ध्यान दिनुपर्ने बताए ।
पानीमा भेटिएको पदार्थबारे जाँच गरिनुपर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमाथि कारबाही गरिनुपर्ने स्थानीयको माग छ ।

यस्तो खाले दूषित पानी भेटिए प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नमुना सुरक्षित राखी जाँच गरिने र दोषी प्रमाणित भए कम्पनीमाथि कारबाही गरिने बताए । तेस्तै जिल्लाको कटहरीयामा समेत ‘मुनड्रप्स’ ब्राण्डका बोतलमा हरीयो लेउ जस्तो पदार्थ पटक पटक देखा परेको स्थानीय सतिस झाले जानकारी दिएका छन् ।
मुन बेभरेज इण्डष्ट्रिज प्रालि चन्द्रपुर–५ का सञ्चालक दीपक कुमार साहले कर्मचारीबाट कमजोरी भएको हुन सक्ने र अनुसन्धान गरिरहेको बताए ।