पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

एसीसी यू–१९ एशिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

२०८० मंसिर २२, शुक्रवार १८:५९ बजे

काठमाडौँ : एसीसी यू–१९ एशिया कपको पहिलो खेलमा नेपाल शुक्रवार पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमीको दोस्रो मैदानमा नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमै ३ विकेटमात्र गुमाएर पार गर्यो । पाकिस्तानका लागि अजान अविसले ६२ बलमा ८ चौका हान्दै सर्वाधिक ५६ रन बनाए । कप्तान साद बेगले ५६ बलमा ५ चौका प्रहार गर्दै ५० रन, मोहम्मद जिशानले अविजित २० रन र शाहजेब खानले १५ रन बनाए ।
तेस्रो विकेटका लागि अविस र बेगले १०८ रनको साझेदारी गरेपछि पाकिस्तान सहज विजयतर्फ लम्किएको थियो । नेपालका लागि गुल्सन झाले २ र आकाश त्रिपाठीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि उत्तम थापा मगरले ७४ बलमा ३ चौका र २ छक्का ठोक्दै सर्वाधिक ५१ रन बनाए भने दीपेश कँडेलले ३१ रन बनाए । अर्जुन कुमालले २१ रन बनाए । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा, विशालविक्रम केसी १/१ रनमा आउट हुँदा कप्तान देव खनाल र विपिन रावलले खाता नै खोल्न सकेनन् । छैटौँ विकेटका लागि उत्तम र दीपेशले ६८ रनको साझेदारी गरे ।
पाकिस्तानका लागि मोहम्मद जिशानले ९ ओभर २ बलमा १ मेडन राख्दै १९ रन खर्चिएर ६ विकेट लिए। आमिर हसनले २ तथा उबेद शाह र अली अस्फन्दले १/१ विकेट लिए । अब नेपालले आइतवार अफगानिस्तानसँग खेल्नेछ ।