पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

कोप २८ मा नेपालको भूमिका

२०८० मंसिर १३, बुधबार ०९:४९ बजे

अभि थापा
नेपालमा पनि जलवायु परिवर्तनको असर देखिन थालेको छ नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको असरले सगरमाथा लगायत हिमाली क्षेत्रमा निकै नराम्रो असर पारिरहेको छ । विकसित मुलुकको औद्योगिक विकासले बढाएको कार्बन उत्सर्जनका कारण बढ्दो विश्वव्यापी तापक्रमले हिमालको हिउँ पग्लँदै जानु र सेतो हिमाल काला पत्थरमा परिणत हुँदै जानु विश्वकै चासोको विषय छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको न्यून योगदान रहे को छ । तर पनि दुई ठुला उदाउँदा राष्ट्रहरु चिन र भारतको बिचमा रहेकोले नेपालले पनि ठुलो मुल्य चुकाउनु परेको अवस्था छ । नेपालले जलवायु परिवर्तनका असरहरू निरन्तर भोगिरहेको छ ।
अहिले विश्वका विकसित मुलुकले अन्धाधुन्ध विकासलाई तीव्र गति दिएका कारण जलवायु परिवर्तनले उग्ररूप लिँदै आएको छ । विज्ञान र प्रविधिलाई मानवमैत्री बनाउन सकिएको छैन । आणविक भट्टी, आणविक हातहतियार, कार्बन उत्सर्जन, खनिज उत्खनन् तथा जीवाश्म इन्धनको खपतलाई न्यूनीकरण नगर्दा विश्व नै अहिले जलवायु परिवर्तनको संकटबाट गुज्रिरहेको छ ।
जलवायु परिवर्तनका कारण नेपालले अर्थतन्त्रमा विशेष योगदान गर्ने कृषि, जलस्रोत, पर्यटन लगायतका विषयगत क्षेत्रहरू लगायत हिमाली क्षेत्रमा हिमताल पग्लने र फुट्ने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी हुने, तराईमा बाढीपहिरो जानेलगायतका चुनौतीहरुको सामना गरिरहेको छ । यो प्रतिकुलताले लाखौँ मानिसको जनजीवनलाई खतरा परेको छ । जसले गर्दा नेपाल ले दिगो बिकासको लक्ष्य हाँसिल गर्न नसकिरहेको अवस्था छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन कन्फेरेन्स अफ द पार्टिज (कोप–२८) यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुँदै छ । जहाँ नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालसहित १६० देशका राष्ट्र वा सरकार प्रमुखहरूले सम्बोधन गर्दछन ।
कोप –२८ मा नेपालले नेतृत्वदायी भूमिका बहन गर्नु पर्ने देखिन्छ यो पटकको सम्मेलनमा नेपालले आफ्नो समूहमा जलवायु परिवर्तनका असरबाट भएको हानि नोक्सानीको क्षतिपूर्ति, जलवायु वित्तमा सहज पहुँचलगायतका मुद्दाको नेतृत्व लिन सक्नु पर्छ । जलवायु सम्मेलन क्षतिपुर्ती रकम माग्ने र प्राप्त गर्ने एक पाटो भयो । अर्को पाटो भनेको समस्या र मुद्दा मिल्ने मुलुकहरू मिलेर साझा एजेन्डा उठाउँदै सामूहिक सम्झौता गर्नु पनि हो ।
।कोप–२८ सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको चारदिने औपचारिक भ्रमण गर्नुभएको थियो । उहाँले नेपालमा भइरहेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सम्बन्धमा संसद्को संयुक्त सदनलाई नै सम्बोधन गरेको हुनाले यो विषयले विशेष अर्थ राखेका छन् । उहाँले जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिएर हिमाली क्षेत्रको अवलोकन गर्नुले पनि यो सम्मेलनमा नेपालको आवाजप्रति विश्वको कान ठाडा र मन खुला हुने अपेक्षा गरिएको छ ।
जलवायु सम्मेलनमा नेपालको परिचय हिमाली मुलुक, अल्पविकसित मुलुक र जलवायु परिवर्तनको असरले सबैभन्दा बढी जोखिममा रहेको मुलुक भनेर दिइने गरेको छ । जसरी नेपालको परिचय विश्व मञ्चमा हुने गरेको छ, त्यसलाई अवसरका रूपमा नेपालले प्रयोग गर्न सक्नु पर्छ । जलवायु परिवर्तनसम्बन्धी यो विश्व सम्मेलनमा निरन्तर सक्रिय भूमिका खेलिरहेको छ । यो पटक जलवायु परिवर्तनको असर न्यूनीकरणको आवश्यकता र नेपाली अडानको सन्देश विश्वलाई दिनुपर्छ । जसरी सन् २००९ मा मन्त्रीपरिषद्को बैठक नै कालापत्थरमा आयोजना गरी विश्वलाई हिमाली संवेदनशीलता देखाएको थियो ।
कोप–२८ मा ‘अरुले गरेको गल्तिमा हामिले सजाय भोग्न सक्दैनौँ, जसको कार्वन उत्सर्जनमा ठुलो भूमिका छ, उसले हाम्रो अधिकारका रूपमा जलवायु कोषमार्फत क्षतिपूर्ति दिनु पर्छ’ भन्ने अधिकारको खोजी नेपालले गर्नुपर्छ । यो कोही प्रती सहयोगको याचना होइन , यो आफ्नो अधिकारको खोजी हो ।यस पटकको सम्मेलन नेपालका लागि विशेष हुनुपर्छ ।
(थापा समाजशास्त्री हुनुहुन्छ )