पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

अलिनु लिखत ओढेर - वरिष्ठ निबन्धकार माधव काफ्ले

२०८० माघ २७, शनिबार १६:५८ बजे

निबन्ध    

अलिनु लिखत ओढेर

              - माधव काफ्ले 

एक चोइली भूगोल च्यापेर खुम्चिरहेछ देश ।

आकार छ गति छैन

आयातन छ फैलावट छैन

वजन छ तेज छैन

आँकडा छन् आधार छैनन्

अभिशापित विरुपाक्षको निस्तेज लिङ्गझै बेआवाज झुण्डिरहेको छ हिमाञ्चलको काखमुनि ।

मर्कटराज चलिरहेको छ । 

उनीहरूसँग सबैथोक छ । विवेक छैन । भएको बुद्धिलाई पनि भोगवादी आहालको चिसो चपरीले थिचेर निस्काम कर्मयोगतर्फ आरोहित हुन थालिरहिएको छ । काम गर तर फलको आशा नगर भनेर त कृष्णले गीतामा हामीलाई सिकाएका छन् । ताक परे तिवारी र नपरे गोतामेमा अनुवाद हुँदै आफ्नो रूप परिवर्तन गर्नसक्ने मकारी कलामा पारंगत हुँदै आएका हामी हिन्दू धर्मका कट्टर अनुयायी, उपाशक । कृष्णजस्ता कर्मयोगी पुरुषले पक्कै पनि ढाँट कुरा नगरेको हुनुपर्छ । 

विवेक हुने मान्छे सितिमिति सिंहाशनारुढ हुन पनि सक्तैन । भइहाल्यो भने पनि धेरै दिन टिक्तैन । जो जो भए पनि राजा धृतराष्टनै हुने गर्दछन् । धृतराष्ट्रको हातमा देशको कमान भएपछि शकुनी, शिशुपालहरू ल्याइतेपटिबाट भए पनि ब्याइतेपटिबाट भएपनि साइनोको फेर समाएर संरक्षित, आरक्षित हुनपुग्नेरहेछन् ।

एकहुल बाँदर आउँछन् । भागलाई लाई ज्युनार गर्छन् । भाकाफेरि फेरि माडीमैदान गर्छन् । 

लाग्छ यो किस्किन्धा नगरी हो । राम्री रूपसीको लावण्य देखेर मोहित हुनपुगेको ससुरो विपनामा उत्रेर बुहारी टिप्तै मस्किन खोज्यो भने अनौठो नठाने हुन्छ । जाँडमा, तिर्सनामा साटेर पठाइएको बालिगमताधिकार चानचुने खालको छ कि क्याहो र ?

बानर राजमा कानुन हुँदैन । फिराद हुदैन । पुर्पक्ष हुँदैन । सक्नेले जे गरे पनि हुन्छ । चल्छ । मिल्छ । नमिले मिलाइन्छ । कुनचाहिँ ठूलो कुरो भयो ? मुखियाले एउटा फर्मान मार्फत् तँ चोखिइस् भनेपछि उसलाई दोषी भनेर आक्षेप लगाउन कसको पिताम ?

अपाहिज भाइहरू रामराज्यको आह्वान, अनुष्ठान गर्दै सुशासनको पिपिरी फुक्न थाल्छन् । अन्यौलको अक्करे भीरमा झुण्ड्याएर देशलाई अभिजात आतङ्क उरालेर उफ्रिन्छन् । वैधानिक अहङ्कारका भाङ्ग्रो भिरेर नाच्छन् । कर्कश रागमा लत्पतिएर गीत गाउँछन् । कोपर्छन्, कोट्याउँछन्, सुँघ्छन् र आफू अनुकूल हावा नचलेको गन्ध थाहा पाउना साथ संसार नै विदग्ध पार्ने तालले कोर्कोराउँदै ढाडिएको झुसिला डकार काढेर मारमुग्री गर्ने र एक ट्वाक कतै लगाउन पाए त्यसैको न्यानो ओढेर घुर्न थाल्ने मान्छे थोडै विदेशी हुन् र ?  

राम राज्यले पर्सादी स्वरूप नरिवल राखिदिने गर्छ नि त उनीहरूको हात, हातमा । मर्यादापुरुषोत्तमले दिएको पर्सादी अस्वीकार गर्न मिल्छ कहीँ ? मिल्दै मिल्दैन । निम्सराको आलो रगतले नुहाउन खोजेर धर्मनिरपेक्ष उन्मुलन गर्न खोजिएको जाग्रत अवस्थामा पाप लाग्दैन ?

फुटाउने सीप र खाने गुह्य ज्ञान आफ्नै कयसमा राखेर वितरण गरिने महादानको परिणाम त हामी भोग्दै छौँ ।

बलको, तुजुकको, सेखीको, चाण्डाल चतुर्याइँको चौडण्डी बन्दै जान्छ भूगोल । समय साक्षी बसेर कुनामा टुलुटुलु हेरिरहन्छ देश । 

पश्चिमाभिमुख हुँदै घुटुघुट थुक निलेर सन्तोष सुँघ्न खोजिरहेको छु म ।

नानावली नौटङ्कीको जामामुनि घुस्रेर गन्तव्य खोजिरहिएको छ । बचाइका सारभूत कुराहरूलाई मुल्तवीमा राखी ।

भन्नेले जेजे भने पनि चोखा कोही छैनन् र चोखो केही राखेका छैनन् । सबै सर्वहारी । सबै सर्बभक्षी ।

नपाएर मात्र हो नेपथ्य कुर्लेको ।

विना लगानी परिश्रम मनग्गे हसुर्न पाएपछि उम्लदै आएको सतह कसरी सेलाउँदै जाने गर्दछ त्यसको नजिर धेरै परछैन । करेसाको आली छिचलेर घरभित्र पस्न थालिरहेको त्यसको असली राग । 

चोखो हुने चाहनामा असुलिने आनामासी व्याजको भर्तालले खुस्काउँदै लगेको हर कति दारुण हुने गर्दछ अनभूत गर्दै छु अहिले । 

चोइटाउन आतुर मानसिकतालाई चोख्याएर 

बाँदरलाई लिस्नु लगाउने कलामा पारङ्गत हुदैजाने दिव्यज्ञान सिञ्चन गरी

निचर्ने धर्म बनिरहेको छ, चारैतिरबाट ।

एकहुल भोका मुसाहरू कालापानी, लिपुलेक कोतरेर मोहनाको डुँडबाट लुत्त छिर्छन् । चोचामोचो मिलाउँछन् । चेपारो घस्छन् केही क्षण । स्याल बनेर सिंहदरबार पस्छन् र हुइँया पिटाउन थाल्छन् । 

अनि अतिसारको प्रलापमा अनुवाद हुँदै विकास बाँडिन्छ । शिक्षा फिजाइन्छ । इमान टक्टक्याउँदै प्रवचन लेपन गरेर अशक्तहरूलाई तङ्ग्रिने बाटो देखाइन्छ । जसरी अशक्त रोगीलाई अनावश्यक औषधी भिडाएर रोग थप्तै जान्छन् चिकित्सकहरू ।

ऐनाको घरमा बसेर ढुङ्गाको फिराद सुन्न खोज्छ विधान ।

बन्दुक हातमा लिएर अपराधी सुरक्षा प्रत्याभूत गर्न खोजिरहेको छ । 

ज्यानमाराहरू नै तालुकदार बनेर विधिको शासनलाई हल्लुँड बनाउन लागिरहेका छन् । नारा र जोताराहरू निम्सराको, निर्दोषको आङ च्यातेर बनाइँदै छ । र एउटा दुर्दान्त परिभाषाको फाहा मुखभरी दलेर प्रगति देखाउन खोज्छ समय । 

अवषादका बिस्कुनहरू नाघेर अन्यौल चारसुर कस्न थाल्छ ।

अनि हामी त्यस जड र परपीडक परम्परालाई विधिवत सनाखत गरी स्थापित गर्न कस्सिने गर्छौँ ।

अनि एउटा अलिनु लिखत ओढेर वशन्त आउँछ । आँकडामा अनुवाद हुँदै गएका असम्भाव्य प्रायः कीर्ते प्रलापहरूको राग सेचन गरी सर्वत्र आशाको रेखी कोरेर ओठ नजिकैबाट सुलुत्त चिप्लेर जान्छ । 

अनि तामसी तुजुकका आलाडाममाथि कुल्ची वर्षेनी लिखतमा प्रगति फुल्न थाल्छन्, प्राप्ति फिँजिन थाल्छन्, समृद्धि मग्मगाउन छ र त्यसैको अमिलो हरक चाटेर हामीहरू भने सुविधा खोज्न भन्किएर हिँड्न खोज्दैछौँ । 

अनि स्थायी शान्ति कता जुठे, कता जुठेकी स्वास्नीजस्तो हुँदै फुङ्ग उड्दै जान्छ हत्केलाबाट र उधारा सपनाहरूबाट भरङ्ग हुँदै ब्युँझेर धरती स्पर्श गर्न थाल्छु ।