पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

१० अर्बको आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकबाट सुचना जारी

२०८० आश्विन २४, बुधवार १५:३२ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्ने‌भएको छ ।

ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले बुधबार सूचना आह्वान गरेको छ । जसअनुसार ऋणपत्र खरिदका लागि बिहीबार (असोज २५ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गरि असोज २६ मा राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने सुचनामा जनाएको छ । ‘विकास ऋणपत्र ०८८ ‘घ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा ५५/५५ अर्ब रुपैयाँका दरले आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको योजना अनुसार अहिले सम्म ८७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ भने, बाँकी १० अर्बका लागि बोलकबोल माग गरेको छ । माग गरेको ऋणपत्र पनि बिक्री भएपछि सरकारले कुल ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने छ । जसमध्ये करिब ४५ अर्ब रुपैयाँ दोस्रो त्रैमासका लागि तय गरेको आन्तरिक ऋण हो ।

बजारमा पर्याप्त तरलता रहेको भन्दै राष्ट्र बैंकले दोस्रो त्रैमासका लागि तय गरिएको विकास ऋणपत्र अघि सारेर आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। जसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।