पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

सर्लाहीको भरत तालमा निजी क्षेत्रको लगानीमा सेवा सुविधाहरू थपिएसंगैं पर्यटकको ओइरो

२०८० फाल्गुन २६, शनिबार १५:०६ बजे

सर्लाही : मधेस प्रदेशको एक मात्रै मानव निर्मित भरत ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि मुख्य आकर्षण केन्द्र बनेको छ भने वाग्मती नगरपालिकाको राजस्व सङ्कलनको मुख्य स्रोतसमेत भएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा नगरपालिकाले बोटिङबाट मात्रै १ करोड भन्दा धेरै राजस्व सङ्कलन गरेको छ भने सवारी साधन पार्किङ शुल्क बापत ५० लाख भन्दा बढी राजस्व सङ्कलन गरेको वाग्मती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जनाएका छन् ।
उनले तालसँगै आश्रित रहेर ५ सयभन्दा धेरै स्थानीयले प्रत्यक्ष रोजगारी पाएको बताएका छन् । ‘अहिले हाम्रो नगरपालिकाको राजस्व सङ्कलनको मुख्य श्रोत भनेकै भरत ताल हो, निजी क्षेत्रसँगको सहकार्यमा हामीले अहिले धेरै सेवा सुविधाहरू थप गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत पुरीले भने ‘अब हाम्रो योजना पिकनिक स्थल, जंगबहादुर राणाको परिचय खुल्ने जंगे पार्क, चिडियाखाना बनाउने योजना छ । यसका लागि बजेट अभावले अलि समस्या भएको छ ।’
पछिल्लो समय भारतको विहार र देशभरबाट पर्यटकहरूको ओइरो लागेको उनले दाबी गरेका छन् । ‘भरत ताल अर्बौँको प्रोजेक्टको रूपमा विकास भइसकेको छ । यसमा नगरपालिका एक्लैको लगानीमा भन्दा पनि निजी क्षेत्र र संघीय सरकारको साझेदारी लागतमा काम गर्ने गरी हामीले कानुन बनाएर दाताहरू खोजिरहेका छौँ पुरीले भने ।
हालै भरत तालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो बढेपछि निजी क्षेत्रहरूको लगानीमा सेवा सुविधाहरू थप गरेका छन् ।
दुई वर्षअघि तालमा बोटिङको मात्रै सुविधा रहेकोमा अहिले जिपलाइन, वाटरसाइकल, स्काइ साइकलिङ, उँट र घोडामा चढेर तालको वरपर अवलोकन गर्ने र वृद्धवृद्धाहरूका तथा बालबालिकाहरूलाई मिनी रेल, सर्वसाधारणहरूका लागि फोटो खिच्न र भिडियो बनाउन क्यामरामेनको समेत व्यवस्था गरिएको छ ।


वाग्मती नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा चालु आर्थिक वर्षदेखि पर्यटकहरूका लागि एक दर्जनभन्दा धेरै सुविधाहरू थप गरेको छ । जसका कारण दैनिक हजारौँको सङ्ख्यामा ताल घुम्न आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ ।
भरत ताल २२१ बिगाहा क्षेत्रफलमा फैलिएको छ । नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, शनिवार र अन्य सार्वजनिक बिदाको दिन यहाँ पर्यटकहरूको भिड लाग्ने बाग्मती ईन्टरटेनमेन्ट प्रालीका अध्यक्ष गौतम खड्काले जनकारी दिएका छन् । उनले नगरपालिकासँग सम्झौता गरेर ८० प्रतिशत रकम कम्पनी र २० प्रतिशत रकम नगरपालिकाको खातामा जम्मा हुने गरी टिकट बिक्री भइरहेको बताएका छन् । तालमा बोटिङ चढ्दा ठुलो जहाजमा ५ सय सानो डुङ्गामा ३ सय रुपैयाँ शुल्क लाग्ने गर्दछ । भरत तालमा ५ वटा घोडा र एउटा उँट, एउटा मिनी रेल पनि सञ्चालनमा छ जसमा पर्यटकहरू चढेर घुम्ने, फोटो खिच्ने र भिडियो बनाउने गर्दछन् ।
पर्यटकहरूका लागि उँट सञ्चालन गर्दै आएका रामलक्ष्यण साहले उँट चढ्न बालबालिकाको लागि ५० र ठुलो व्यक्तिको लागि सय रुपैयाँ शुल्क लाग्ने बताएका छन् । उनले शनिबार र बिदाको दिन थेग्नै नसक्ने गरी भिड लाग्ने गरेको बताए ।
पर्यटकहरूका लागि सञ्चालनमा रहेको रेलमा भने एक पटकमा १६ जनासम्म चढ्न मिल्छ । जसका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लाग्दछ ।