–रमेश क्षितिज
स्वेच्छिक अवकाश लिएर घर फर्किरहेको पूर्व लडाकुले
बिर्सिहिडेछ बाटो छेउको झुपडीजस्तो चियापसलमा
पसिना पुछेर राखेको रुमाल,
कुन तर्कनामा थियो होला ऊ
र विर्सेर हिड्यो आँसुको अक्षरहरुले लिपीवद्ध गरेको
अनेक कथाहरुको एउटा संग्रहजस्तो
थोपा–थोपा पसिनाले भिजेको
कुनै गम्भिर तेलचित्रजस्तो
अझ क्यान्टोन्मेन्टका उदास दिनहरुमा
कहिले हातमा कहिले गलामा भएर
नछुट्टिने साथी जस्तो रुमाल
घर पुगेर हेर्नेछ उसले
किलामा झुण्डिएको स्कूलको झोला
जुन उसले छोडिहिडेको थियो आँगनमा वर्षौ पहिले
र सामेल भएको थियो सैन्य तालिममा
हेर्नेछ शहिद घोषणा गरिएकी निर्दोष बहिनीको तस्वीर
त्यसमाथि सुकिसकेको माला
संझिनेछ– जनताको मुक्तिका लागि भनेर आफैले दिएको सदस्यता
केही सोधेझै लाग्नेछ उसलाई तस्वीरका
चम्किला आँखाहरुले,
कठै भनेर सुम्सुम्याउनेदयालु हजुरआमा हुनेछैनन् अब–
हुनेछैन रोएर बाटो छेक्ने बहिनी
साँझको आकाशबाट झरेको तारा जस्तो गायव हुनेछ उत्साह अचानक
सामुन्नेमा हुनेछन् जटिल प्रश्नजस्ता बा आमाका अनुहार
बाबु १ कहाँ फर्फरायो क्रान्तिको रातो झण्डा ?
आँखामा टिल्पील टिल्पील हुनेछन् आसुँहरु
अनि खोज्नेछ उसले यही रुमाल १
स्वेच्छिक अवकाश लिएर घर फर्किरहेको पूर्व लडाकुले
बिर्सिहिडेछ बाटो छेउको झुपडीजस्तो चियापसलमा
पसिना पुछेर राखेको रुमाल १