पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

रौतहट डिभिजन वन सक्रिय,तस्कर धमाधम नियन्त्रणमा

२०८० मंसिर २५, सोमबार ०९:२६ बजे

रौतहट : पछिल्लो समय रौतहट वनमा गस्ती तिब्र पारिएको छ । केही महिना यता मात्र हाजिर भएका डिभिजन वन प्रमुख (डिएफओ ) शैलेन्द्र कुमार मिश्रको सक्रियतामा वनमा गस्ती तिव्र पारिएको हो । गस्तीकै क्रममा वनबाट दर्जनौं तस्करहरु नियन्त्रणमा आएको डिएफओ मिश्रले पाठशाला न्युजलाई जानकारी दिएका छन् । गत शनिवार डिभिजन वन कार्यालय रौतहटले सयौँ क्यूफिट सालको अवैध काठसहित एक दर्जन बढी तस्करलाई पक्राउ गरेको छ ।
डिभिजन कार्यालयका अनुसार उनीहरुले साइकल लगायतका साधन प्रयोग गरेर काठ तस्कर गर्ने गरेको पाइएको छ ।
राष्ट्रिय वनमा तस्कर प्रवेश गरेको भन्ने सूचनाका आधारमा गएको गस्ती (सुरक्षा) टोलीले साइकलसहित काठ बरामद गरेको डिएफओ मिश्रले बताएका छन् ।
केही दिन अघिमात्र सशस्त्र प्रहरीको वन सुरक्षा गस्ती टोलीले रौतहटको बलेरी खोर जंगलबाट दुईवटा साइकल जोडेर लोड गरिएका सालको गोलिया बरामद गरेको थियो ।यसअघि गत साउन १५ गते सशस्त्रको वन सुरक्षा टोलीले यता ३९७ क्यूफिट सालको काठ बरामद गरेको थियो । सो अवधिमा काठ तस्करी र अवैध सिकारमा संलग्न १५ जना तस्कर लाई पक्राउ गरिएको थियो । साथै काठ तस्करीमा प्रयोग गरिएको पिकअप भ्यान १ थान, ट्याक्टर १ थान, टायर गाडा २ थान, मोटरसाइकल १ थान र साइकल १४ थान बरामद भएको डिभिजन प्रमुख मिश्रले जानकारी दिए ।
साउनयता पक्राउ परेका तस्करलाई कानुनी कारबाही गरी जरिवाना स्वरूप ६ लाख, १३ हजार १२० रुपैयाँ राजश्व सङ्कलन गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकृत बिमल ठाकुरले बताएका छन् ।