पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

मौसम : काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि बदली

२०८० फाल्गुन १९, शनिबार ०८:४४ बजे

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको मौसम यतिबेला (शनिबार बिहान) साधारणतया बदली (आकाश बादलले ढोकेको) छ ।
‘आज दिनभर मौसम बदलीकै अवस्थामा रहने सम्भावना छ’, उनले भने, ‘आज घाम देखिने सम्भावना कमै छ, तर आज दिउँसो पानी पर्ने सम्भावना अलि कम देखिएको छ ।’
उनले थपे, ‘आज दिउँसो उपत्यकामा पानी पर्ने सम्भावना १०/२० प्रतिशत मात्रै देखिएको छ, उपत्यकाका एक दुई स्थानमा छिटपुट वर्षा होला कि भन्ने अनुमान छ, रातिचाहिँ उपत्यकामा पानी पर्ने सम्भावना अलि बढी देखिएको छ ।’
उनका अनुसार पश्चिमी न्यून चापीय प्रणाली (पानी पार्ने मौसम प्रणाली) पश्चिमबाट बिस्तारै पूर्व सर्ने क्रममा छ। यसको प्रभाव बागमती र कोसी प्रदेशमा भोलि आइतबार बढी पर्ने सम्भावना छ ।
‘सुदूरपश्चिम प्रदेशतिर त अहिले नै वर्षा सुरु भइसकेको छ’, मौसमविद् अधिकारीले भने ।
मौसम बदली भएसँगै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ ।
मामैसमविद् अधिकारीका अनुसार बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा उक्लिएको हो । हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो ।
‘राति आकाश छपक्कै बादलले ढाकेकाले न्यूनतम तापक्रम बढेकोे हो’, उनले भने, ‘दिउँसोचाहिँ घाम नलाग्ने भएकाले अधिकतम तापक्रम भने घट्ने सम्भावना छ ।’
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् अधिकारीको भनाइ छ । हिजो शुक्रबार उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस थियो ।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ । बिहान ८ः४५ बजेभित्र न्यूनतम तथा साँझ ५ः४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ ।