पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

फेन्देलिङ्ग गुम्बाको नाउँमा चन्दा आतंक

२०८० असार ३०, शनिबार २०:२१ बजे

रौतहट–चन्द्रपुर नगरपालिका वडानम्वर तीन गैंडाटार स्थित चिसापानी गाउँको बन्दै गरेको गुम्बाको नाउँमा जिल्ला भन्दा बाहिरका स्थानमा चन्दा माग गरेको पाइएको छ ।
अज्ञात समुहले रौतहटको उत्तरी भेगमा पर्ने चुरे क्षेत्रको फेन्देलिङ्ग गुम्बाको नाउँमा ब्यापक चन्दा आतंक गरेको जनाइएको गुम्बाका सचिव प्रेमबहादुर बजुले बताउनुभयो । हाल यस गुम्बा निर्माणधिन अवस्थामा छ । उहाँका अनुसार,के कति रकम लगे भन्ने एकिन जानकारी नभएपनि किर्ते कागज बनाएर चन्दा माग गरेको खवर समितिलाई आएको हो । समितिले पनि यस सम्वन्धमा अध्ययन अनुसन्धान गरिरहेको छ ।
यस गुम्बाको नाउँ लिँदै चन्दा आतंकमा संलग्न ब्यक्तिको नाम थाहा नभएपनि स्थानीय केही ब्यक्तिहरुको संलग्नता रहेको शंका गुम्बा समितिको छ । अवैध तरिकाले चन्दा माग गर्ने गिरोह आएमा चन्दा नदिन र सकेसम्म समितिसंग सम्पर्क गर्न चन्दादातालाई समितिले आग्रहसमेत गरेको छ ।
कमाई खाने भाँडो बनाउँदै चन्दा उठाउन लागि परेको अज्ञात समुहले यसअघि यो गुम्वाको नाउँमा महेन्द्रनगर,कैलाली,कन्चनपुर,मकवानपुर,राजधानी काठमाडौंलगाएतका स्थानबाट चन्दा लिएको जानकारी आएको गुम्वा समितिले जनाएको हो । बाहिरी जिल्लामा ब्यापक चन्दा आतंक मच्चिएको जानकारी मौखिक रुपमा आफुले पनि पाएको तर समितिले लिखित जानकारी भने नगरेको चन्द्रपुर नगरपालिका वडानम्वर तीनका वडाअध्यक्ष बोधनाथ देवकोटाले बताउनुभयो ।
समितिले स्थानीय प्रसासनलाई लिखित जानकारी गराउने तयारी गरेको छ । धार्मिक संस्थाको रुपमा रहेको यो गुम्बा भवन पाँच कठ्ठा ऐलानी जमिनमा बन्दै गरेको हो । यसको निर्माण वि.स २०७६ सालमा शुरु गरिएको हो । छ जना लामा गुरुबाट निर्माण शुरु भएको यस गुम्बा निर्माणमा वडा कार्यालयबाट छ लाख रुपैयाँ बजेट सहयोग पाएको समितिले जनाएको छ । हालसम्म १२ लाख रुपैयाँ खर्च भएको गुम्बा निर्माण उपसमितिका अध्यक्ष धनबहादुर वाइबाले जानकारी दिनुभयो । आर्थिक अभावमा यस गुम्बाको छत ढलान,प्लाष्टर,रंगरोगन र पर्खाल निर्माण गर्ने काम भने अझै अधुरो छ ।