पाठशाला न्यूज
 २०७९ आश्विन १७, सोमबार    

आफूले रोजेको मान्छे सधैं आफ्नो नहुदो रहेछ

२०७९ भाद्र २१, मंगलबार १०:३७ बजे

प्रतिमा पौडेल
एक दिन अफिसबाट फर्किदै थिए,बाटोमा एक जोडी आखासंग मेरा आखा जुधे, कतै देखेजस्तो, चिनेजस्तो लाग्यो र एकछिन दिमागमा जोर लगाए, तर ठम्याउन सकिनँ, फेरि ऊतिर हेरे, ती जोडी आँखा मैमाथि एकटक परिरहेका रहेछ ।
केही भेटेजस्तो, केही खोजेजस्तो उसका हतास आँखाले मलाई ऊतिर तान्यो। म उसको नजिक गएर सोधे,हामी पहिला नि भेटेको छौं र? हजुरलाई कहीं देखे जस्तो लाग्यो नि ।
मैले यति भन्न नपाउदै उसको मुखबाट अचानक मेरो नाम निस्क्यो , म दंग परे,कुरा गर्दै जादा उनी मेरो बालसखा रैछिन्,ममा अझै नि बाल्यकालको केही रौनक बाकी रैछ र उनले चिनिन्,तर उनमा पूरै परिवर्तन आइसकेको थियो,जिन्दगीको बोझले थिचेर गलेझैं देखिएकी उनलाई मैले चिन्न नसकेकोमा माफी मागे,
३० औं वर्षपछि भेटिएका हामी छिट्टै छुट्टिन चाहेनौ,मैले उनलाई मेरो घर जाने प्रस्ताव राखे,उनले आनाकानी सहित स्वीकारिन्,पैदल १० मिनेट हिडेपछि हामी मेरो घरभित्र छिर्यौं अनि सुरु भयो हाम्रो गन्थन,हामीले बालापनका धेरै यादहरू ताजा गयौ,बाल्यकालको अध्याय सकिएपछि मैले उनलाई श्रीमान कता हुनुहुन्छ, के गर्नुहुन्छ भनेर सोधे ।
श्रीमानको कुराले उनको अनुहारको रौनक बदलियो,उनले केही असहज महसुस गरेको मैले बुझे,मनमनै आफूलाई गाली गरे,उनको खाली गला, बुच्चै हात र सादा सिउदो देखेर त नसोध्नु पर्थ्यो मैले जस्तो लाग्यो,म पनि अकमकिएको देखेर उनले सहज हुदै भनिन्, म सधवा एकल हु ।
म अमिलिए तर उनी भने अब खुल्न थालिन्, वर्षौंदेखि उकुसमुकुस भएर भरिएर बसेकी उनी मेरो अघि पूरै यसरी पोखिन थालिन् ।साथी, १८ वर्षको कलिलो उमेरमा आफै रोजेर मैले बिहे गरे,दुवै परिवार सहमत त थिएनन् तर नि हामीले आफू खुसी गर्यौं,त्यति बेला संसार जिते जस्तो भएको थियो,अब त जिन्दगी खुसी नै खुसी हुन्छ, एकअर्कालाई हेरेर मात्र नि जिन्दगी कट्छ जस्तो लाग्थ्यो, तर सोचेजस्तो कहा हुदो रैछ र ?
पेटलाई प्रेम होइन भात चाहिदो रैछ, रोगलाई स्पर्श होइन उपचार चाहिदो रैछ, बिहे गरेर मात्र जिन्दगी चल्ने होइन रहेछ, जिन्दगी चलाउन व्यवहार नि गर्न पर्दो रहेछ । जेनतेन जिन्दगी चलाउदै गर्दा पहिलो गर्भ रह्यो । आफ्नै गासको ठेगान थिएन, बच्चा कसरी जन्माउनु भन्ने सोचेर गर्भपतन गर्न खोज्यौ,उसलाई जन्मिन नै थियो, औषधि खादा नी गर्भ गएन ।
माइतीघर कसैले वास्ता गरेनन्,बच्चा जनमाए, जिन्दगीमा संघर्ष गर्यौं,कहिले खायौ, कहिले भोकै नि बस्यौ । झोलामा एक किलो चामल किनेर ल्याएर एक हप्ता पनि टार्यौं, खान मन लागेका चिज मन पर्दैन पनि भन्यौं । वर्ष दिनसम्म मासु नदेखेका दिन पनि पार गर्यौं ।
पहिलो सन्तान जन्मेपछि विस्तारै राम्रो हुदै गयो । राम्रो जागिर मिल्यो । ठाउ परिवर्तन गर्यौं,उनले राम्रो प्रगति गर्दै गए,उनको घर बच्चा, उनकी कर्कश आमा सबै मैले सम्हाल्दिएँ। उनी प्रगति पथमा लम्किँदै गए, म नि जागिर खान्छु भन्दा खान दिएनन्,घरभित्र कुवाको भ्यागुतो बनाएर राखे,बाहिर देख्दा हाई–हाई थियो तर भित्र पुरै खोक्रो,त्यही पनि अब जिन्दगी यही हो, यसैमा खुसी हुन्छु भनेर बच्चाको लागि नि चुपचाप उनको कैदी भइदिए ।
छिट्टै प्रगति गरे उनले। एक छाक खान चामल नपुगेर जाउलो खाने हामी आज उनी आफ्नै गाडीमा सरर हिड्ने भए, घर, गाडी, सम्मानजनक पोस्टको जागिर, व्यापार, छोराछोरी सबै थिए । बाहिरबाट हेर्दा सुनको लंकाजस्तै सुन्दर थियो मेरो घर र जिन्दगी,उनको संघर्षमा साथ दिएर उनीसंग दुःखहरू बाडेर घास दाउरा सबै गरी दुई सन्तान जन्माएपछि म विस्तारै उनलाई मन पर्न छोडे,उमेर नि ढल्किँदै गयो। कायाले सुन्दरता गुमाउँदै गयो। मेरो ऊर्जाशील उमेर खाएर उनी अझै रातोपिरो नै थिए ।
म उनलाई असुहाउदो भए, उनको गाडीको अगाडि सिटमा अमिल्दो भए,मेरो पूरै जवानी खाइसकेर उनी फेरि ताजा जवानीको तातो खोज्न निस्किए, धेरै सम्झाए, धेरै सहे, तर उनी त्यसबाट निस्किन मानेनन्, अन्ततः हाम्रो परिवार उनको बुढेसकालको बैसको उन्मादको रापले ध्वस्त भयो ।
यति भनिसक्दा मेरी साथीले दुई लिटर जति पानी खाइन् र चार लिटर जति आँसु बगाइन् होला,उनीसंगै म नि भावुक भए , अनि मैले उनलाई सोधे,त्यसपछि के भयो त ? अहिले जिन्दगी कस्तो हुदैछ?

उनी फेरि सरर बग्न थालिन्
साथी, त्यसपछि हामीले छोडपत्र गर्यौं उनकै इच्छामा, मैले बच्चाबाहेक केही लिइनँ, उनले ला पनि भनेनन्, छोडपत्र पछिको एकल जीवन झन् दर्दनाक हुदो रैछ साथी,यदि उनी मरेर म एकल भएकी भए मैले सहानभूति पाउथे, उनको परिवारबाट निकालिन पर्दैन थियो,उनको नाम, थर, गोत्र, सम्पत्ति सबैमा हक लाग्थ्यो। तर म उनी हुँदाहुँदै एकल भए,मेरो संसार एक्लियो, मैले त डाँको छोडेर रुन नि पाइन,बिलौना गरी गरी रुनलाई उनी मरेकै थिएनन् र नरुनलाई उनी मेरो लागि ज्युँदो पनि थिएनन् ।
लोग्ने मरेकाहरूको छानो चुहिन्छ होला, मेरो त छानो नै थिएन,विधवालाई भाग्यको विधान कठै भनिन्छ, मलाई त बच्चलन चरित्रहीन भनियो। लोग्ने रिझाउन नसक्ने, घर गरी खान नसक्ने भनियो। लोग्ने मरेकाको सिउँदो उजाडिन्छ, मेरो त संसार उजाडियो,मरेको लोग्नेको नामथर, गोत्र, सम्पत्ति सबैमा हक लाग्छ तर छोडेको लोग्नेको त सबै हक नि छोडिँदो रहेछ,कसैले घर कहाँ भन्दा मुटु चिसो हुन्छ साथी। वर्षौं लाएर बनाएको एउटा घर थियो, गर्लम्मै ढल्यो,अब घर कहा भनौं?
व्रत, पूजापाठ गर्दा पुरोहितले गोत्र के भनेर सोध्दा सास रोकिन्छ,रगतको गोत्र सारेर उसकै गोत्र पारेको वर्षौंपछि फेरि कुन गोत्र हो भनेर अलमल पर्नुको पीडा कसले बुझ्छ र? मरेको लोग्नेलाई वर्षको एकदिन भए नि पिण्ड दिएर सम्झेको छु है भनेर समाजलाई देखाउन मिल्छ, ज्युदो लोग्नेलाई मैले बिर्सेको छैन भनेर नि कसरी देखाउनु? लोग्ने मरेर विधवा भएकालाई अझै नि लोग्नेको सतमा छे भनेर समाजले पत्याइदिन्छ ,उसले चारित्रिक प्रमाणपत्र दिन पर्दैन तर जिउँदा लोग्नेका मजस्ता विधवालाई हरेक पुरुषले गिद्दे नजर लाइदिन्छन्, पाइला पाइलामा हामीले आफ्नो वकालत गर्नपर्छ ।
हिजोसम्म म्याडम नमस्ते भनेर शिर झुकाउनेहरू आज बहिनी के छ खबर? भनेर हात उठाउछन्,हिजोसम्म बोल्न नसकेकाहरू आज सहानभूति बोकेर कठै भन्दै आउछन्,यो लोग्ने छोडेकी यसका अंगहरू प्यासले तड्पेकका होलान्, यो सजिलै मेरो बाहुपासमा पर्छ भन्ने सोच्छन्,यसो भनेर मलाई ऊसंग सम्बन्ध विच्छेद गरेकोमा पछुतो भएको चाहिँ होइन। फेरि सम्बन्ध विच्छेद नगरेको भए त्यहां त म मारिन नि सक्थे, तर मलाई जति पीडा भए नि जिन्दगीको माया चाहि लागिरह्यो साथी ।
बरु त्यही मरेकी भए हुन्थ्यो भनेर मेरै आफन्तले नभनेका पनि होइनन्,ती वचन आज नि खिल जसरी मनमा गाडेका छन्,माइती पनि लोग्ने साथमा हुँदा मात्र आफ्नो हुने रैछन,लोग्ने छोडेपछि माइतीले मलाई छोडे, २÷४ दिन गएर माइती नि बसे,तर माइती अब मेरो लागि माइती रहेनछ, पराई घर रहेछ, त्यहा बस्दा नि साह्रै सकस भयो, न कसैको अघि रुन सक्थे न कसैको अघि खुलेर बोल्न सक्थे ।
उनीहरूले गोडा पुजेको ज्वाइकै पक्ष लिएर जन्माएको मलाई एक्लो पारिदिए,लोग्नेले घरमा हरेक दिन कुटेर थलिएको शरीर बोकेर हिडिरहेकी मलाई माइतीले नि शंकाकै दृष्टिले हेरे,यहा सबभन्दा ठूलो पैसा रैछ,सब आफन्त, नातागोता पैसाकै कठपुतली रैछन् ।
यसरी बिना गन्तव्य भौतारिरहेको मेरो यात्रामा धन्न कोही भगवान बनेर आइदियो र मलाई डोर्याएर निश्चित दिशा देखाइदियो,उसले बिना स्वार्थ बिना सम्बन्ध नि मलाई एउटा लक्ष्य दियो,पर्दा पछाडि बसेर मलाई बाच्ने सहास र प्रेरणा दियो र आज म यहासम्म छु,तर डर लाग्छ, ममाथि समाजको गिद्दे नजर पर्यो भने फेरि हामीबीच एउटा अपवित्र र नाजायज सम्बन्धको पर्खाल लगाइदिने छ,त्यसैले मैले उसलाई भगवान मानेर मेरो मन्दिरमै राखेकी छु ।
दुनियाको नजरदेखि टाढा मरेको मान्छेको राम्रा कुरा मात्र याद हुन्छन् तर जिउदै मरको मान्छेको नराम्रा याद मात्र हुन्छन्,ती यादहरूलाई दबाएर म खुसी छु ऊबिना भन्ने भ्रम छरेर बाच्न साह्रै कठिन छ,साथी, मरेका लोग्ने सम्झेर जहा जहिले जोसंग नि रोइदिन मिल्छ तर छोडेको लोग्ने सम्झेर कोसँग रुनु? न आफूलाई जन्माउनेसँग पीडा पोख्न सकिन्छ न आफूले जन्माएकासंग पोखिन सकिन्छ,हामीलाई नी चाड त आउछ तर रमाइलो आउन्न,समस्या त आउछ तर समाधान गर्दिने आउन्न,हुरी, झरी, बाढी सब आउछन् तर ओत आउन्न ।
मलाईभन्दा गाह्रो मेरो सन्तानलाई भयो,साथी उनीहरूको बाउ मरेका भए आमा या बाउ रोज्ने दुविधामा पर्ने थिएनन्, परिवार भित्रै हुन्थे तर जिउँदो बाउको टुहुरा हुन् नि, धेरै गाह्रो भयो उनीहरूलाई,उनीहरू अन्योलमा परे बाउ रोजौ कि आमा ? माया रोजौं कि छत्रछाया,काख रोजौ कि बास ? न्याय रोजौ कि अन्याय ? यस्तै अन्यौलताको बीच नि बच्चाहरूले ओत छोडेर कोख रोजेर मेरो दूधको इज्जत राखिदिए,तर मनमा त होला नि।
चाडबाड नरमाइलो हुदा,जन्मदिनमा जन्मदाता साथ नहुदा पीडा त उनीहरूलाई नि होला नि तर व्यक्त गरेर मलाई दुखी बनाउन नचाहेका होलान् जस्तो लाग्छ,हरेक कुसेऔसीमा र बाबाको जन्मदिनमा मै उनीहरूलाई सम्झाइदिन्छु आज बाबालाई फोन गर नंम्बर भनेर तर मान्दैनन्,म नि कर गर्दिनँ,यो देख्दा लाग्छ उनीहरूले नि आफूलाई अघोषित टुहुरा मानिसके,तर जिउदो लोग्नेको विधवा र जिउँदो बाउको टुहुरो भएर बाच्न साह्रै गाह्रो छ साथी ।
उसले यति भनेर आफ्नो कथा सकिसक्दा मेरो आखाहरू बर्सिसकेका थिए,सांझ परिसकेको थियो,ऊ फेरि भेट्ने वाचाका साथ बिदा भएर गइन् तर म सोचमा परे, श्रीमान मरेर एकल हुनु र जिउदै हुदा एकल हुनु दुवै पीडादायी छ,जसले जे भोग्छ उसलाई त्यही ठूलो लाग्छ तर पनि विधवा एकललाई जस्तो साहानभूति, सम्मान र सद्भाव सधवा एकललाई हुन्न ।
जसरी मृत्यु हुनु अपराध होइन त्यसरी नै सम्बन्ध विच्छेद हुनु नि अपराध होइन,अझ भन्नुपर्दा त सम्बन्ध विच्छेद अपराध रोक्न सहयोगी चाहिँ हुनसक्छ,हरेक एकल महिलाले सम्मानपूर्वक बाच्न पाउनु पर्छ,एकलको अर्थ अभाइलेबल होइन,एबल हो भनेर बुझ्नु पर्छ ।