पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

अबको एक हप्ता वा १० दिन भित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउनेछन्।”- प्रधानमन्त्री पुष्पकमल दाहाल

२०८० माघ १५, सोमबार १७:२० बजे

वीरगंज - प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको बताए।

“हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी– सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौं”, प्रधानमन्त्री दाहालले भने, “अबको एक हप्ता वा १० दिन भित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउनेछन्।”

कतिपय उद्योगहरू नेपाली सेनाले सञ्चालन गर्नेछ भने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उनले बताए।

जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट पारे।

“नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ”, उनले भने,“ यसमा क्रान्ति नै गर्न खोजिएको छ, यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु।”

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामुखी नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए।

नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि राय सुझाव लिइने बताउँदै उनले अब नयाँ तबरले सरकार अगाडि बढ्ने दाबी गरे।

प्रधानमन्त्री दाहालले आवश्यक योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए।सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको जानकारी दिए ।