पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

राष्ट्रकवि घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना

२०८० आश्विन २, मङ्गलवार ११:०८ बजे

काठमाडौं–राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा उहाँकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रूपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक रहनु भएकी राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रकविका छोराहरु इन्दिवर घिमिरे र राजीव घिमिरे पनि उपस्थित रहनुभएको थियो भने प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष भाग्यशाली अधिकारी, महासचिव श्रीकृष्ण न्यौपाने, कोषाध्यक्ष लक्ष्मण थापा लगायतको सहभागिता रहेको थियो . यसरी स्थापित अक्षयकोषबाट आउने ब्याजबाट वार्षिक एक जना साहित्यकारलाई एक लाख रुपैयाँ राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ पनि प्रदान गरिने भएको छ। उक्त पुरस्कार नेपालको बिभिन्न साहित्यिक बिधाको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले उक्त पुरस्कार राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष असोज ७ गते सो पुरस्कार वितरण गरिने र जसको लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने समेत जानकारी दिनुभएको छ ।