पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

वनको जग्गा अतिक्रमण गरेको आरोपमा वनका अध्यक्ष थापा पक्राउ

२०८० माघ २, मंगलबार ११:०० बजे

बारा : वनको जग्गा अतिक्रमण गरेर भोगचलन गरेको आरोपमा निजगढ नगरपालिका २, स्थित वनदेवी सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । वनदेवी सामुदायिक वन उपभोक्ता समूहका बहालवाला अध्यक्ष सिद्ध बहादुर थापालाई वन कार्यालयले पक्राउ गरेको हो ।
थापालाई आइतबार नै वन कार्यालयले बारा जिल्ला अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरेको छ । १ वर्ष कैद र २ लाख जरिवाना भन्दा बढी सजाय हुने मुद्दा वनको क्षेत्राधिकार भित्र पर्दैन । जसअनुसार वनको जग्गा अतिक्रमणको मुद्दा अदालतले मात्रै हेर्ने गर्दछ ।
२०७३ सालमा वनदेवी सामुदायिक वनका अध्यक्ष थापा सहित लोकप्रिय प्राविका प्रअ मुकुन्द विष्ट, तत्कालीन वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद ढोडारी, मन्दिर निर्माण समितिका राधाकृष्ण पुडासैनी र निजगढ २ बस्ने स्थानीय झलक बहादुर राईसहित २६ जना विरुद्ध वन क्षेत्र अतिक्रमण गरेको आरोपमा वन कार्यालयमा मुद्दा दर्ता छ ।
इलाका वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासले सामुदायिक वनका अध्यक्ष थापा बाहेक अन्यको हकमा पनि २०७३ सालमा नै मुद्दा दर्ता भएकोले अदालतमा उपस्थित हुन आग्रह गरेका छन् ।
उनीहरू विरुद्ध ३० बिगाहा भन्दा धेरै वनको जग्गा अतिक्रमण गरेर भागबन्डामा भोगचलन गरेको अभियोग छ । अतिक्रमण भएको वनको जग्गा भागबन्डा लगाएर ९ वटा संघसंस्थाले ठेक्कामा केरा खेती गरेको र लाखौँको आम्दानी समेत हिनामिना गरेको आरोप छ । उनिीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रले समेत यसअघि नै कारवाहीको लागि वन कार्यालयलाई पटक पटक ध्यानाकर्षण जनाएको थियो ।

अख्तियारले वनको जग्गा अतिक्रमण भएको विषयमा वन विभागसँग जवाफ मागेपछि विभागले वन कार्यालय बारालाई त्यसको स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
सोही निर्देशनका आधारमा वन कार्यालयका रेन्जर बुनिलाल बैठाले बुझाएको अध्ययन प्रतिवेदनमा वनदेवी सामुदायिक वन समूहका अध्यक्ष, वडाध्यक्ष, विद्यालय प्रअ, विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव, मन्दिर निर्माण समिति पदाधिकारी लगायतले संलग्नतामा वन अतिक्रमण गरेकोले उनीहरूलाई दोषी ठहर गरी वन ऐन २०४९ तथा वन नियमावली २०५१ बमोजिम कारबाही गर्न प्रतिवेदनमा उल्लेख गरिएको छ ।